नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद अब समानान्तर संगठनात्मक प्रक्रियामा पुगेको छ। संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहले आज असोज १५ गतेदेखि छुट्टै वडा अधिवेशन सुरु गर्दैछ।
देउवा समूहले आफ्नो महाधिवेशनका लागि असोज १५ गते वडा, असोज २० गते गाउँ/नगर, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ।
देउवा समूहले वडा अधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत परिचालन गरिएको जनाएको छ। विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको समूहको भनाइ छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको १५औँ महाधिवेशन तयारी समितिले अधिवेशनको तयारी अघि बढाइरहेको छ। समूहले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र दर्जनौँ जिल्लामा संयोजक तोकेको विवरण सार्वजनिक भएको छ।
देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै पार्टीको आधिकारिक कार्यसमिति रहेको दाबी गर्दै आएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाप्रति असहमति जनाउँदै उसले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
यसैबीच देउवाले बिहीबार सामाजिक सञ्जालमार्फत वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले १५औँ महाधिवेशनमार्फत पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्कोतर्फ कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनका लागि यसअघि नै वडा तहको निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। कांग्रेसको आधिकारिक वेबसाइटका अनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार वडा र पालिका तहका अधिवेशनहरू अघि बढिरहेका छन्।
यसरी एउटै पार्टीको १५औँ महाधिवेशनका लागि दुई फरक समूहले फरक कार्यतालिका र संगठनात्मक प्रक्रिया अघि बढाएपछि कांग्रेसको आधिकारिकता, नेतृत्व र आगामी संगठनात्मक संरचनाको विषय थप जटिल बनेको छ। हाल दुवै पक्षले आफ्नो प्रक्रियालाई अघि बढाइरहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्