वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
शुक्रबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरू समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्कासन गर्न आग्रह गरेका हुन्। उनले प्रधानन्यायाधीशलाई तत्काल राजीनामा दिन पनि सुझाव दिएका छन् ।
उनले नेता र राजनीतिक दलका नेतालाई समेत प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन आह्वान गरेका छन् । उनले भने, ‘म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरू र सम्पूर्ण सांसदहरूलाई आह्वान गर्न चाहन्छु, महाअभियोग लगाउनुस् र निष्कासन गर्नुस्।’ वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरूलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरेका छन् ।
उनले प्रत्येक दलका नेताहरूको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप समेत लगाएका छन्। नेताहरूको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रूपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरू बोल्न नसकेको उनले बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्