२०८३ बैशाख १८, शुक्रबार

युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप

युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् । युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् ।

बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि उनले यसबारे विस्तृत जानकारी नदिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘युक्रेनी पक्षबाट ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा गोलाबारी भएको छ ।’ टेलिग्राममा उनले लेखेका छन्, ‘गोलाबारीबाट क्षति भएको छ । यसबारे विस्तृत सूचना म पछि दिनेछु ।’ केही समयअघि गभर्नर ग्लादकोभले युक्रेनी फौजले बेलगोरोद क्षेत्रमा रहेको तेल भण्डारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका थिए ।

उक्त आक्रमणमा ८ जना घाइते भएको जनाइएको थियो । यद्यपि युक्रेनी पक्षले भने यस आक्रमणको जिम्मा लिन अस्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्