जिल्ला प्रशासन कार्यालय काठमाडौं र चितवनले सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै नागरिकलाई सडकमार्गबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी रातिको समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार साउन २ गते राति ठूलो वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा पहिरोको उच्च जोखिम रहेको बताएका छन्।
प्रशासनले अत्यावश्यक काम नपरे यात्रामा ननिस्कन आग्रह गर्दै गन्तव्यमा जसरी पनि पुग्ने हतार नगर्न चेतावनी दिएको छ। “जहाँ हुनुहुन्छ, त्यही आसपास सुरक्षित स्थानमा रोकिएर बास बस्नुहोस्,” सूचनामा भनिएको छ।
मौसमको अवस्था हेरेर आवश्यक परे कुनै पनि बेला सडक आवागमनमा रोक लगाउन सकिने प्रशासनले जनाएको छ। यात्रामा निस्कनै परे अतिरिक्त कपडा, सुख्खा खानेकुरा, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आधारभूत औषधि साथमा राख्न पनि अनुरोध गरिएको छ।
यात्राका क्रममा समस्या परे वा सूचना आवश्यक भए नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न तथा नदी किनार र बाढी–पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि सडकमार्गबाट यात्रा गर्दा विशेष सावधानी अपनाउन अपिल गरेको छ। विगत वर्षहरूमा बाढी र पहिरोका कारण रातिको समयमा गम्भीर क्षति भएको स्मरण गराउँदै प्रशासनले यात्रा अघि सडकको अवस्थाबारे प्रहरी प्रशासनबाट यकिन जानकारी लिन आग्रह गरेको छ।
काठमाडौं प्रशासनले राजमार्ग अवरुद्ध भएको अवस्थामा यात्रुलाई सुरक्षित स्थानमा मात्रै रोक्ने व्यवस्था गर्न, आवश्यक खाना र पानीको प्रबन्ध मिलाउन तथा प्रहरीबाट सडक सञ्चालन भएको आधिकारिक सूचना प्राप्त भएपछि मात्रै यात्रा अघि बढाउन सबै सरोकारवालासँग अनुरोध गरेको छ।








प्रतिक्रिया लेख्नुहोस्