२०८३ असार ५, शुक्रबार

कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो ।

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, पेन्ट डिलर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र खत्री र यानलग इंकका सीएफओ सन्तोष पाण्डेले अरुणालाई सम्मान गरे ।

अरुणालाई यानलग इंकबाट स्मार्ट वाच र इटालियन सुट पिस, सुलक्स सेन्टरबाट टिसर्ट र घडी तथा धुलिखेल लज सिसोर्टबाट एकदिनको प्याकेज प्रदान गरिएको थियो । अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको प्रथम बंगमाता एसियन सिनियर महिला सेन्ट्रल जोन भलबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले प्रतिष्ठानले भलिबल खेल र खेलाडीको हितका लागि प्रशंसनीय कार्य गर्दै आएको बताउदै निजी क्षेत्रबाट पनि खेलको विकासमा सहयोग गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताएका छन् । अध्यक्ष खड्काले खेलकुदका साथै सामाजिक क्षेत्रमा पनि प्रतिष्ठानले कार्य गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्