नेपाल राष्ट्र बैंकले आज (असोज १६ गते) बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि १८ अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो।
बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। यसरी संकलन गरिएको साँवा तथा ब्याज कात्तिक १३ गते भुक्तानी गरिनेछ।
निक्षेप संकलनको बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमका लागि आवेदन दिन सक्नेछन्। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।







प्रतिक्रिया लेख्नुहोस्