२०८३ साउन ३१, आइतवार

संचारमाध्यले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर: प्रमुख आयुक्त थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर समाचार संकलन र सम्प्रेषण गर्न उर्दी गरेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्मरुपमा रिपोर्टिङ हुनुपर्ने बताए ।

उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिकासहित मतदानस्थलतर्फ जाने प्रक्रिया भइरहेका मंसिर १ गते साँझसम्ममा सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे नपुगेको विषयमा रिपोर्टिङ आफूले चाहेको बताए । रिपोटिङका लागि संचारकर्मीले चाहेको सूचना उपलब्ध गराउन आयोग तत्पर रहेको बताए ।

बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताउँदै उनले निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको रहेको बताए ।

‘हामी सबैले आफ्नो इमानदारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँकतै उल्लंघन नहोस्, उल्लंघनका समाचार बाहिर आउन् । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह होस्,’ प्रमुख आयुक्त थपलियाले भने,‘ ‘पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस् । सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसाथ गर्नुहोला ।’

प्रतिक्रिया लेख्नुहोस्