गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे पद्म नर्सिङ होमको क्षमता विस्तार तथा नवीकरण प्रक्रियामा आर्थिक लेनदेनको ‘डिल’ गरेको आरोपमा विवादमा तानिएका छन्। पोखरा महानगरपालिका–३, नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा विस्तार गर्ने अनुमति तथा नवीकरण प्रक्रियासँग जोडिएको श्रव्यदृश्य सार्वजनिक भएपछि पूर्वमन्त्री पाण्डेसहित उनका तत्कालीन स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौला विवादमा परेका हुन्।
सार्वजनिक सामग्रीमा अस्पतालको नवीकरणका लागि ३० लाख रुपैयाँसम्मको रकमबारे कुराकानी तथा बार्गेनिङ भएको दाबी गरिएको छ। सामग्रीअनुसार पूर्वमन्त्री पाण्डे र अस्पतालका प्रतिनिधिबीच कुराकानी भएपछि स्वकीय सचिव पौडेलसँग थप रकमबारे कुरा गर्न भनिएको देखिन्छ। त्यसपछि रकम घटबढ हुँदै २५ लाख रुपैयाँमा सहमति भएको संवाद सार्वजनिक भएको छ।
अस्पतालका अध्यक्ष यादव गौतमले आवश्यक मापदण्ड पूरा गरे पनि नवीकरणको फाइल लामो समय रोकिएको र पटक–पटक ताकेता गर्दा मन्त्रालयका अधिकारीबाट रकम मागिएको दाबी गरेका छन्। अर्कोतर्फ, सार्वजनिक विवरणमा अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा रकमको चेक काटिएको विषयसमेत उठाइएको छ। विभिन्न सञ्चारमाध्यममा चेकको रकमबारे २५ लाख र ३० लाखका फरक विवरण सार्वजनिक भएका छन्।
तर आरोपमा जोडिएका पूर्वमन्त्री पाण्डे, स्वकीय सचिव पौडेल र सचिव बसौलाले घुस लिएको आरोप अस्वीकार गरेका छन्। पाण्डेले रोकिएको प्रक्रिया अघि बढाउन समन्वय गर्न भनेको तर आफूले रकम नलिन निर्देशन दिएको दाबी गरेका छन्। पौडेलले रकमबारे कुराकानी भएको स्वीकार गरे पनि आफूले पैसा नलिएको र आफ्नो नाममा चेक किन काटियो भन्नेबारे जानकारी नभएको बताएका छन्। सचिव बसौलाले पनि आफूले कसैसँग घुस नमागेको र कानुनसम्मत रूपमा काम गरेको दाबी गरेका छन्।
विवाद सार्वजनिक भएपछि नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिमा वेदबहादुर गुरुङ र धनञ्जय दवाडी सदस्य छन्। समितिलाई १५ दिनभित्र घटनाको तथ्य–सत्य छानबिन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। अब छानबिन समितिको प्रतिवेदनले सार्वजनिक भएका श्रव्यदृश्य, आर्थिक लेनदेनसम्बन्धी विवरण र अस्पतालको नवीकरण प्रक्रियामा सम्बन्धित व्यक्तिहरूको भूमिकाबारे थप स्पष्टता दिनेछ।







प्रतिक्रिया लेख्नुहोस्