२०८३ असार २२, सोमवार

बलात्कार आरोपित व्यक्तिलाई १२ वर्षको कैद सजाय

एक जना बलात्कार आरोपित व्यक्तिलाई १२ वर्षको कैद सजाय तोकिएको छ। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा आरोपित दैलेख दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई जिल्ला अदालत दैलेखले सोमबार उक्त कैद सजाय तोकेको हो।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा कैदको अलावा आरोपितले ५० हजार क्षतिपूर्ति र १८ सय रुपैयाँ पीडित राहत कोषमा तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारीले जानकारी दिएका छन् । पीडितलाई सहमतिमै यौन सम्बन्ध भएको भन्न लगाइएको भए पनि १८ वर्षभन्दा कम उमेर बालिकालाई मन्जुरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने कानुनी व्यवस्था अनुसार सजाय भएको उनले जानकारी दिएका छन् ।

२०७७ असार १५ गते जङ्गलमा बलात्कार गरेको घटनामा गएको चैत ५ गते छोरी जन्मेपछि पीडित पक्षले चैत १३ प्रहरीमा उजुरी गरेको थियो । उजुरी सम्बन्धमा प्रहरीले आरोपित बिकलाई ०७८ जेठ १५ गते गिरफ्तार गरी अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्