महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट अस्पष्ट र नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।महाशाखाले चलाएको नम्बर प्लेटविरूद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरूद्ध विशेष चेकजाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएका छन् ।
विशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिएका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने महाशाखाले जानकारी दिएको छ । त्यस्ता, मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपीले बताएका छन् ।
सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ। तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जानकारी दिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्