२०८३ बैशाख १८, शुक्रबार

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल भारतसँग २–१ ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल दशरथ रंगशालामा २–१ ले पराजित भएको छ । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । दोस्रोमा सुधारिएको प्रदर्शन गरेको भारतले ६२औँ मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरीको गोलबाट अग्रता लियो ।

चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टको दिशा दिएका थिए । फारुख दोस्रो हाफको सुरुमै विपिन सिंहको स्थानमा मैदान छिरेका थिए । मैदान छिने वित्तिकै आफ्नो प्रभाव जमाउन सफल फारुखले भारतलाई अग्रता दिएका थिए । सुनिलले ८१औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता दोब्बर बनायो ।

लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए । पहिलो खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । नेपालका विशाल राईले ६८औँ मिनेटमा बराबरी गोल फर्काउने राम्रो मौका खेर फाले । वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले दिएको पासमा विशालले ६ यार्ड बक्स नजिकैबाट हानेको प्रहार थोरैले बाहिरिएको थियो ।

त्यस्तै ७४औँ मिनेटमा पनि मनिष डाँगी गोल गर्न चुके । अञ्जन विष्टले दायाँ भागबाट दिएको सुन्दर क्रसमा मनिषले हानेको प्रहारले पोष्टको दिशा लिन सकेनन् । आयुष घलानले गरेको क्रस आशिष लामाले हेड नभेट्दा अग्रता लिने राम्रो अवसर खेर गएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्