२०८३ मंसिर २, मङ्लबार

लिओनेल मेसीले किने स्पेनको दोस्रो डिभिजन क्लब एल्डेन्से

अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस दोस्रो डिभिजनको क्लब सीडी एल्डेन्से खरिद गरेका छन्। आवश्यक नियामक स्वीकृति प्राप्त भएपछि क्लबको स्वामित्व हस्तान्तरणसम्बन्धी प्रक्रिया औपचारिक रूपमा पूरा भएको जनाइएको छ। एलिकान्टेमा आधारित एल्डेन्सेले मेसी क्लबको नयाँ स्वामित्वमा आएको औपचारिक घोषणा गरेको हो।

क्लबले आफ्नो आधिकारिक वेबसाइटमार्फत एक शताब्दीभन्दा लामो इतिहास बोकेको एल्डेन्सेको स्वामित्व मेसीले लिएको जनाएको छ। क्लबका अनुसार उनको आगमनसँगै एल्डेन्सेको इतिहासमा नयाँ अध्याय सुरु भएको छ। मेसीले स्पेनिस क्लबमा लगानी गरेको यो दोस्रो पटक भएको बताइएको छ। यसअघि उनले क्याटलान क्लब कोर्नेलामा समेत लगानी गरेका थिए।

एल्डेन्सेले मेसीको लगानी क्लबको खेलकुद, संस्थागत तथा सामाजिक विकासलाई दीर्घकालीन रूपमा अघि बढाउने योजनासँग जोडिएको जनाएको छ। मेसी र क्लबबीच मुख्य सेयरधनी बन्ने प्रारम्भिक सहमति यसअघि भइसकेको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि स्वामित्व हस्तान्तरण औपचारिक रूपमा सम्पन्न भएको हो। एल्डेन्से हाल स्पेनको दोस्रो तहको व्यावसायिक फुटबल प्रतियोगिता ला लिगा २ मा प्रतिस्पर्धा गरिरहेको छ। क्लबको स्वामित्व परिवर्तन यस्तो समयमा भएको हो, जतिबेला टोली लिगमा संघर्ष गरिरहेको छ।

खेलाडीबाट क्लब मालिकसम्म मेसी
मेसीले आफ्नो खेलाडी करियरको अधिकांश समय स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए। सन् २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका उनले क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए। सन् २०२१ मा बार्सिलोना छाडेपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पुगेका थिए। त्यसपछि सन् २०२३ मा अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध भएका हुन्।

अर्जेन्टिनाका लागि मेसीले सन् २०२२ को विश्वकप जितेका छन्। उनी आठ पटकका बलोन डी’ओर विजेतासमेत हुन्। यससँगै मेसीको व्यावसायिक फुटबलमा भूमिका खेलाडीबाट क्लब स्वामित्व र व्यवस्थापनतर्फ समेत विस्तार हुँदै गएको देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्