२०८३ असार ५, शुक्रबार

काम छोडेर सडकमा उत्रिए तुलसीपुरका स्वास्थ्यकर्मी

मेसुलाई मोसो दलेको आरोप लागेका अनेरास्ववियु दाङ संयोजकले उल्टै दिए भौतिक कारबाहीको चेतावनी

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी संघर्षमा उत्रिएका छन्।

तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै आइतबार सडकमा आएका हुन्।बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट सुरू भएको विरोध र्‍यालीले बजार परिक्रमा गरेको थियो। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

र्‍यालीमा सहभागीले ‘वी वान्ट जस्टिस, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू( मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेका थिए।र्‍यालीमा मेसु सिंह, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद शर्मा, कोरोना विषेश अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीसहित विभिन्न निजी क्लिनिकमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो।

बजारको परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्रांगणमा पुगेर उनीहरूले कोण सभा गरेका थिए। कोण सभाका वक्ताहरूले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी दिनदहाडै मेसु सिंहमाथि मोसो दल्नुले सबै स्वास्थ्यकर्मीको अपमान भएको तथा सुरक्षा चुनौती थपिएको बताए। उनीहरूले यस्तो अवस्थामा काम गर्ने वातावरण नहुने भन्दै दोषीलाई कारबाही गरी कानुनी राज्यको प्रत्याभूत गराउन माग गरेका थिए।

आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीले शनिबार दिउँसो दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका थिए।नेकपा एमालेसम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए।

प्रतिक्रिया लेख्नुहोस्