विश्वको सर्वोच्च शिखर सगरमाथा १८ वर्षको उमेरमा आरोहण गरी विश्व रेकर्ड राखेका शम्भु तामाङ हाल नेपाल क्यान्सर अस्पतालमा उपचाररत छन् । सिन्धुपाल्चोक रिस्याङ्खु मुल घर भइ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका तामाङले १८ वर्षकै उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड राखेका हुन । शम्भु तामाङ हाल सिकिस्त बिरामी भइ नेपाल क्यान्सर हस्पिटल, गोदावरी, ललितपुरमा भर्ना भइ उपचार गराइरहेका छन् ।
पर्वतारोहणको क्षेत्रमा अतुलनीय योगदान दिए वापत उनलाई विगतमा सरकारले गोरखा दक्षिणबाहु त्रिशक्तिपट्टा, हुलाक विभागले स्मारक खाम (कमेमोरेटिभ लेटर) प्रकाशित गरी तथा राज्यको तर्फबाट विभिन्न सम्मानद्वारा सम्मानित गरेको थियो । “विगत लामो समय देखि क्यान्सरबाट पीडित तामाङको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि यस विषयमा राज्य बेखबर जस्तै देखिनु दुखद कुरा हो । नेपालको पर्वतारोहण क्षेत्रमा अतुलनीय योगदान पुर्याएका शम्भु तामाङको उपचारमा राज्यले पहलकदमी लिनुपर्छ । र राज्यले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्छ ।” तामाङ रिमठीम पर्यटन सञ्जालका अध्यक्ष अम्बर बम्जन तामाङले खबरखानासँग कुरा गर्दै बताउनु भयो ।
यस्तो छ उनको जीवन –
शम्भु तामाङबारे मणि तामाङ र अम्बर बम्जन तामाङद्वारा लिखित “साहसिक पर्यटनमा तामाङ जातिको योगदान” नामक पुस्तकमा उल्लेखित अंशः
नेपालमा सन् २००१ भन्दा अगाडि प्रकाशित भई अध्ययन हुने सामान्य ज्ञान लगायत विभिन्न पुस्तकहरुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सबैभन्दा कम उमेरमा पुग्ने व्यक्ति शम्भु तामाङ हुन् भनि उल्लेख गरिएको हुन्थ्यो । सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको शिखरमा पुगेका इटालीयन आरोहण दलका ४ जना (Rinaldo Carrel, Mirko Minuzzo, Lhakpa Tenzing Sherpa, Sambhu Tamang) सदस्यहरु मध्ये एकजना शम्भू तामाङ थिए । त्यसबेला उनको उमेर १७ वर्ष ६ महिना १५ दिनको थियो । उनकै शब्दमा आपूm विश्वकै कान्छो आरोही बनुँला अनि राज्यले केही देला वा आपूm विश्व विख्यात बनुुँला भनेर उनी सगरमाथा चढ्न गएका थिएनन् । सन् १९५५ अक्टोवर २० तारिखका दिन सिन्धुपाल्चोक जिल्ला लिसंखु गा.वि.स. वडा नं. ४ मा जन्मिएका शम्भु तामाङको मावली काठमाडौं भएकोले मामाघरमै बसेर अध्ययन गर्न काठमाडौं आएका थिए । शान्ति विद्यागृह, लैनचौर, काठमाडौंमा कक्षा ८ मा पढ्दै गर्दा उनले इटालीयन भाषा अध्ययन गर्न छात्रवृत्ति पाएर १४ वर्षकै उमेरमा इटाली पुगे।
उनलाई इटालीयन भाषा अध्ययनको लागि छात्रवृत्ति मिलाउने मुख्य व्यक्ति केही वर्ष भित्र सगरमाथा चढ्न आउने योजना उनीहरुसँगको बसाईमा उनले थाहा पाए। उनीहरुले इटाली र युरोपका अन्य क्षेत्रमा हिमाल आरोहणको तालिम लिएको देखेपछि उनलाई पनि पर्वातारोहणको तालिम लिन मन लाग्यो रउनीहरुसँगै लागेर तालिम लिए । त्यसपछि तिनै इटालीयनहरुसँग सन् १९७१ (१६ वर्ष उमेरमा) मा मकालु हिमाल आरोहणमा उनी८,१६३ मिटरसम्म पुग्न सफल भएता पनि चुचुरोमा पुग्न भने सफल भएनन् । त्यसको अर्को वर्ष, सन् १९७२ को अर्जेन्टिनीहरुसँग सगरमाथा आरोहणमा सहभागीभई उनी ७,९२५ मिटरसम्म पुग्न सफल भएका थिए । तर यसपटक कोही पनि शिखर चुम्न सफल भएनन् । सन् १९७३ मा जब उनी संसारकै कान्छो आरोहीको रुपमा सगरमाथाकोचुचुरोमा पुगे, त्यस ऐतिहासिक दिनमा अन्य उल्लेख्य रेकर्डहरु पनि बनेको थियो । सो आरोहण इटालीको पहिलो सफल सगरमाथा आरोहण थियो भने शम्भु तामाङ पहिलो गैरशेर्पा नेपाली आरोही । शम्भु तामाङ लगायतको आरोहणको खबर सबैभन्दा पहिले भारतको अल इण्डिया रेडियोबाट प्रसारण भएको थियो । उक्त खबरमा आरोहण गरिएको मिति, आरोहीहरुको नाम र उमेर उल्लेख गरिएको थियो । त्यसैगरी इटालीको विभिन्नसञ्चारमाध्यमहरुले पनि समाचारहरु प्रकाशन/प्रशारण गरेका थिए । तर उनी नै विश्वको कान्छो आरोही हुन् भन्ने चाहिं स्वयं शम्भु तामाङले पनि करिब दुई वर्ष पछि मात्र थाहा पाएका थिए । उनीसँगैसगरमाथा आरोहण गरेका इटालीयनहरुले पनि उनको उमेरको कारण विश्व रेकर्ड कायमभएको कुरा निक्कै पछि मात्र महशुस गरेका थिए । त्यसपछि उनको नाम विश्व रेकर्डधारी आरोहीको रुपमा विभिन्न श्रोत र सामान्य ज्ञानका पुस्तकहरुमा छापिएका थिए ।

शम्भु तामाङद्वारा स्थापित विश्व रेकर्ड सन् २००१ मा अर्का नेपाली आरोही तेम्बाछिरीले १६ वर्षको उमेरमा सगरमाथा आरोहण गरेपछि मात्र तोडिएको थियो । रेकर्डहरु तोडिनु सामान्य नियम हुन्, यद्यपी शम्भु तामाङ सगरमाथाको शिखरमा सबैभन्दा सानो उमेरमा पुगेर विश्व रेकर्ड राख्ने पहिलो व्यक्ति हुन् भन्ने तथ्य भने कहिल्यै नतोडिने रेकर्ड हो र यो तथ्य नेपालको राज्य वा सम्बन्धित क्षेत्रका धेरैले महशुस नगरेको यथार्थ पनि हो ।
नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा विश्व रेकर्डधारीको अलावा एक वरिष्ठ पर्यटन व्यवसायी, दक्ष आरोही, आरोहण प्रशिक्षक तथा प्रेरणादायी व्यक्तित्वका रुपमा शम्भु तामाङ परिचित नाम हो । पर्वतारोहणसँग सम्बन्धित (Alpine Activities) नेपालको आधिकारिक संस्था वा अल्पाइन क्लबका जन्मदाता मध्ये शम्भु तामाङ पनि एक हुन् भन्ने कुरा अर्को धेरैलाई थाहा नभएको तथ्य हो । सगरमाथाको सफल आरोहण पश्चात उनले नै अर्का व्यक्ति नृत्यमान सिंहको साथमा परराष्ट्र मन्त्रालयका अमेरिका–युरोप डेस्कका प्रमुख यादवकान्त शिलवाल (पछि सार्क महासचिव भएका) लाई भेटेर नेपालमा अल्पाइन एसोसिएसन वा हिमाल आरोहण गतिविधि सम्बन्धी एक संस्था हुनुपर्ने कुरा उठाए । उनको यस प्रस्तावमा यादवकान्त शिलवाल सकारात्मक भए र तत्कालीन परिस्थितिमा सर्वसाधारणले संघसंस्था खोल्न सहज नभएको हुँदा राजपरिवारका सदस्य कुमार खड्ग विक्रम शाहलाई भेट्न सुझाव दिए । त्यसपछि उनले यस बारेमा ब्रिफिङ गरेपछि कुमार खड्ग विक्रम शाहकै नेतृत्वमा सन् १९७३ मा नेपाल पर्वतारोहण संघको स्थापना भएको थियो ।
उनकै पहलमा स्थापना भएको पर्वतारोहण संघ अहिले पनि नेपालको पर्वतीय क्षेत्रको सबै भन्दा ठूलो संस्थाको रुपमा रहेको छ । उनले कार्यसमितिका सदस्य तथा सह–सचिवसम्मको भूमिकामा रहेरकार्य गरेता पनि उनलाई कसैले पनि उक्त संस्थाको प्रमुख बन्न प्रस्ताव गरेनन् वा पुग्नै दिएनन् ।त्यतिमात्र नभइ उनी नेपाल पर्वतारोहण संघ अन्तरगतकै पर्वतारोहण सम्बन्धी तालिम दिने शुरुका प्रशिक्षकहरु मध्ये पनि एक हुन् ।
यसरी सानै उमेरमा स्कुल छोडेर भाषा सिक्न इटाली पुगेका शम्भु तामाङले पुनः औपचारिक शिक्षा लिएनन् । उनले पर्वतारोहणलाई नै आफ्नो स्थायी पेशा बनाउँदै पर्यटन क्षेत्रलाई अँगाले । पर्वतारोहणकै क्रममा उनले सन् १९८५मा पुनः सगरमाथाको तिव्बत तर्फबाट आरोहण गरे । त्यसबखत उनले अगष्ट २८ मा आरोहण गरेका थिए, जुन सामान्य आरोहण याम भन्दा अलग समय थियो ।
सगरमाथा आरोहणद्वारा देशको पहिचान झल्काउने तथा मित्रता बढाउने अभियानको रुपमा सन् १९८८मा “चीन–जापान–नेपालचोमोलङमा÷सगरमाथा मैत्री अभियान” भएको थियो । उक्त त्रि–देशीय अभियानमादक्षिणतर्फको उप–नेता शम्भु तामाङ रहेका थिए । यसपटक भने उनी शिखरसम्म पुग्न सकेनन् । त्यसपछि भने उनले उच्च शिखर आरोहणलाई छाडेर पर्यटन व्यवसायमा निरन्तर रुपमा लागिरहेका छन्।

उनलाई सन् २००३ जुन २० का दिन तामाङ पर्यटन व्यवसायीहरुको अग्रसरतामा नेपाल तामाङ घेदुङले सार्वजनिक अभिनन्दन गरेको थियो । तत्कालीन राजपरिषद स्थायी समितिका सभापति सम्माननीय परशुनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अभिनन्दन कार्यक्रममा शम्भु तामाङसहित १४ जना सगरमाथा आरोही र आठ हजार मिटर भन्दा अग्ला हिमालहरुको आरोहण गरेका ७ जना पर्वतारोहीहरुलाई पनि सम्मान गरेको थियो । हाल नेपाल पर्वतारोहण संघको सल्लाहकार सदस्य रहेका उनलाई संघले पटक–पटक सम्मान गरेको छ । सगरमाथा आरोहणको स्वर्ण महोत्सवको अवसर पारेर राज्यको तर्फबाटउनको सम्मानमा सन् २००३ मे ५ मा उनको नाममा हुलाक विभागले स्मारक खाम (Commemorative Cover) जारी गरेको थियो । यसैगरी उनलाई नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल, नेपाल तामाङ राष्ट्रिय महासंघ, नेपाल तामाङ विद्यार्थी समूह, दुर्ग बहादुर तामाङ स्मृति प्रतिष्ठान, रामेछाप तामाङ समाज, शान्ति विकास अभियान, आदिवासी जनजाति महासंघ लगायतका विभिन्न संघसंस्थाहरुले सम्मान गरेको थियो । हाल उनी श्रीमती, एक छोरा र एक छोरीकासाथ चक्रपथ, काठमाडौमा बस्छन् ।







प्रतिक्रिया लेख्नुहोस्